नेपालमा फलफूल तथा बागवानी क्षेत्रको संस्थागत विकास कृषि क्षेत्रको समग्र विकाससँगै अघि बढेको पाइन्छ। वि.सं. २०२३ सालमा तत्कालीन कृषि विभागलाई पाँचवटा विभागमा विभाजन गर्ने क्रममा पहिलो पटक फलोद्यान विभागको गठन भएको थियो। वि.सं. २०२९ सालमा ती पाँचवटै विभागलाई पुनः एउटै कृषि विभागमा पुनर्गठन गरियो। सोही समयमा बागवानी बालीको विकासका लागि फलफूल, तरकारी विकास शाखाको स्थापना गर्नुका साथै राष्ट्रिय सुन्तलाजात फलफूल विकास कार्यक्रम र राष्ट्रिय आलु बाली विकास कार्यक्रम समेत सञ्चालनमा ल्याइएका थिए। वि.सं. २०४७ सालमा कृषि विभागलाई पुनः विघटन गरी बागवानी विभागलाई कृषि विभागबाट अलग गरियो भने वि.सं. २०४९ सालमा पुनः एकै छाता मुनीको सिद्धान्त अनुरुप बागवानी क्षेत्रलाई कृषि विकास विभागमा समायोजन गरी  फलफूल विकास महाशाखा र तरकारी विकास महाशाखा गठन गरियो।

वि.सं. २०५७ सालमा फलफूल र तरकारी विकास महाशाखाहरुलाई छुट्टाछुट्टै निर्देशनालयहरुमा रूपान्तरण गरिएपछि फलफूल विकास निर्देशनालयको स्थापना भयो। उक्त निर्देशनालयले आर्थिक वर्ष २०७४/७५ सम्म फलफूलका साथै कफी, चिया तथा पुष्पसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो। केन्द्रीयस्तरको प्राविधिक निकायका रूपमा निर्देशनालयले नीति तथा कार्यक्रम तर्जुमा, गुणस्तरीय बिरुवा आपूर्ति व्यवस्था, तथ्याङ्क संकलन तथा अद्यावधिक, सुपरिवेक्षण, अनुगमन, निरीक्षण तथा समन्वयका कार्यहरू सम्पादन गर्दै आएको थियो। साथै, फलफूल तथा बागवानी क्षेत्रका समस्या समाधानका लागि प्राविधिक मार्गदर्शन तथा सेवा प्रदान गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई लक्षित कार्यक्रमहरू सञ्चालन गरिएका थिए। तत्कालीन ७५ वटै जिल्ला कृषि विकास कार्यालय तथा १३ वटा फार्म केन्द्रमार्फत देशभर फलफूल विकासका कार्यक्रमहरू कार्यान्वयन हुँदै आएका थिए।नेपालको संविधान, २०७२ बमोजिम राज्यको पुनःसंरचनासँगै वि.सं. २०७५ साल श्रावणदेखि साविक फलफूल विकास निर्देशनालयबाट सम्पादन हुँदै आएका कार्यहरूलाई निरन्तरता दिन संघीय कार्यालयका रूपमा राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरको स्थापना गरिएको थियो।

नेपाल सरकारबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८२ अनुरूप कृषि क्षेत्रका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएपछि वि.सं. २०८३ साल श्रावणदेखि साविकको राष्ट्रिय फलफूल विकास केन्द्रबाट सम्पादन गरिने कार्यहरु गर्नको लागि राष्ट्रिय फलफूल बाली विकास केन्द्र, कीर्तिपुरको, काठमाण्डौं स्थापना भएको हो। हाल यस केन्द्र अन्तर्गत कृषि श्रोत तथा नियमन कार्यालय, कीर्तिपुर, काठमाण्डौं; कृषि श्रोत तथा नियमन कार्यालय, मार्फा, मुस्ताङ; कृषि श्रोत तथा नियमन कार्यालय, नवलपुर, सर्लाही; कफी विकास कार्यालय, आँपचौर, गुल्मी र सुन्तलाजात फलफूल विकास कार्यालय, तानसेन, पाल्पा गरी पाँचवटा कार्यालय रहेका छन्। केन्द्रको मुख्य उद्देश्य गुणस्तरीय फलफूल उत्पादन तथा उत्पादकत्व वृद्धि, फलफूलको उपभोगमार्फत पोषण सुधार, सम्भाव्य फलफूलमा आत्मनिर्भरता तथा आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, रोजगारी तथा कृषकको आयस्तर वृद्धि, भू-क्षय न्यूनीकरण तथा वातावरण संरक्षणमार्फत नेपालको फलफूल क्षेत्रको दिगो विकासमा योगदान पुर्याउनु रहेको छ।